News Griha :: न्यूजगृह
उर्लाबारी आगलागी : १४ जनालाई उपचारका लागि सेनाको स्काइ ट्रकबाट काठमाडौं ल्याइयो 

काठमाडौं— मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा घाइते भएका १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको स्काइ ट्रक जहाजबाट काठमाडौं ल्याइएको छ । आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । गम्भीर घाइते १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । 

उर्लावारी नगरपालिका- ७ का विशाल बस्नेत, शिवकुमार बिक, राम नरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुँइटेल, रातामान सोरेन लगायत १४ जना गम्भीर घाइते छन् । बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गएराति आगलागी हुँदा चार प्रहरी सहित २८ जना जलेर सख्त घाइते भएका थिए । उनीहरु प्राय सबैको शरीरमा कम्तीमा ४० प्रतिशत समेत जलन छ ।

321-1699887334.jpg

मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार पसलमा आगलागी भएसँगै खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा घर बाहिर सडक र पेटीमा रहेका सर्वसाधारण र प्रहरी आगोको ज्वालामा पर्दा जलेका थिए । उनीहरु आगो निभाउन पुगेका थिए । आगलागीबाट कार, मोटर साइकल र सुनचाँदी सहित घरमा समेत ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:४०
Weather Update