
काठमाडौं— करेन्ट लागेर धादिङ, रूपन्देही र रामेछापमा गरी तीन जनाको मृत्यु भएको छ ।
धादिङको नेत्रावती गाउँपालिका- ४ चमैकोट बस्ने ४५ वर्षीया निर्मला तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा मेन लाइन तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, रामेछापको दोरम्बा सैलुङ गाउँपालिका- ५ काभ्रेचौर बस्ने ३५ वर्षीय महेन्द्र कँडेलको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको देवी थान मन्दिरमा पूजा गर्नको लागि बिजुलीको बल्ब राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेम्स अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ लुम्बिनीस्थित मलेसियन मन्दिरको ट्रस्ट बनाउने क्रममा करेन्ट लागेर बारा कलैया उपमहानगरपालिका- २० बस्ने २४ वर्षीय कर्मुल्ला ठकुराई मुसलमानको आइतबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।













