News Griha :: न्यूजगृह
भरुवा बन्दुक र ४० किलो सुकुटीसहित चार पक्राउ 

बाँके— पछिल्लो समय बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरू बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटकपटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ । 

सो क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी शिकारीमा संलग्नलाई नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली छन् ।

निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेसन गर्दा उनीहरूलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

पक्राउ परेकाको साथबाट भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उनले बताए । 

निकुञ्ज प्रशासनका अनुसार पक्राउ परेकाहरूलाई एक वर्ष कैद, एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।  

केही समय यता चोरीशिकारी बढ्दैगएको पाइएकाले निकुञ्जभित्र गस्ती बढाइएको पनि बाँके र बर्दिया दुबै निकुञ्जले जनाएका छन् । केही समययता आएर निकुञ्ज क्षेत्रभित्र विभिन्न जनावरहरूसमेत मृत भेटिने गरेकाले पनि चोरीशिकारी बढेको पुष्टि गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:४५
Weather Update