पटाका पड्काउँदा इनरुवामा घर जल्यो, ५० लाखको क्षति

काठमाडौं— गएराति सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका वारुणयन्त्रसहित स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८० १०:१२













