आगलागीमा परी मोरङमा ४ प्रहरीसहित २८ जना घाइते

काठमाडौं— लक्ष्मी पूजाका दिन मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसमेत २८ जना घाइते भएका छन् ।
प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापा तथा मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालका अनुसार स्थानीय दीपक कार्कीको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकासमेत घाइते भएको दाहालले बताए । आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८० १०:०७













