News Griha :: न्यूजगृह
‘नयाँ चरणको क्रान्ति’को तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नयाँ चरणको क्रान्तिको तयारीमा लागेको बताउँदै आएको पनि धेरै भइसक्यो । 

तर क्रान्तिको स्वरुप र आवश्यकताबारे उनी पटक्कै बोलेका छैनन् । प्रधानमन्त्री प्रचण्डले अहिले पूर्वमाओवादीहरूको एकता र सर्वदलीय एकताको विषयलाई बडो चाखपूर्ण तरिकाले अँगालेका छन् । विश्लेषकहरूले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भनाइलाई सत्ताको अवधि लम्याउने चालको रुपमा अर्थ्याउँछन् । 

प्रधानमन्त्री प्रचण्डले केहिदिन अघि सर्वदलीय बैठकमा गणतन्त्रमाथि संकट आइपरेको अपुष्ट चर्चामा दलहरूसँग परामर्श गरेका थिए । सत्तामा रहेका प्रमुख दलहरूले पनि पुष्टि हुन बाँकी नै रहेको ‘गणतन्त्रमाथिकै खतरा’ विरुद्ध एकतावद्ध हुने अठोट गरेका थिए । जसका बारेमा सर्वत्र आलोचना भइरहेको छ ।

गाउँस्तरीय प्रशिक्षणमा कार्यकर्ता प्रशिक्षित गर्न शुक्रबार रोल्पाको थबाङ पुगेका प्रचण्डले ‘अब नयाँ चरणको क्रान्तिको तयारीमा’ लागेको सुनाए ।

पहिलोपल्ट चारदशक अघि ‘जनयुद्धको तयारी गर्न’ थबाङ पुगेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङलाई विचार र क्रान्तिको प्रतीकको संज्ञा दिए ।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्झिए, ‘६ वर्षपछि हाम्रो आधारक्षेत्र थबाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थबाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यही आधार बनाएर गरिएको थियो,’ त्यतिबेलाको अवस्था स्मरण गर्दै प्रचण्ड भन्छन्,‘थबाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं।’   

क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहिँड्ने तर्क गर्दै प्रचण्डले यो कहिले अघि बढ्ने, कहिले एक कदम पछि हट्ने गर्छ भनी कार्यकर्तालाई सम्झाए । आगामी विशेष महाधिवेशनमा पार्टीले समाजवादको बाटो थप स्पष्ट पर्ने, विचारको विकास र संश्लेषण गरी समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार निर्माण गर्ने भावी योजना पनि प्रचण्डले प्रशिक्षणमा सहभागी कार्यकर्ताहरूलाई सुनाए ।

मिलिजुली सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री प्रचण्डले आजको ‘नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्ने’ भन्दै समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्ने भन्दै ‘जनयुद्ध’को समापन भइनसकेको संकेत गरेका थिए ।

शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएकाले कमजोर भएको भन्दै अहिले विस्तारै एकताको आधार तयार हुँदै गएको प्रचण्डको भनाई छ ।

‘विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकतावद्ध हुन्छौँ । समाजवादको आधार तयार पार्ने उद्देश्यले नै केही नयाँ काम सुरु गरेका छौँ,’ अध्यक्ष प्रचण्डले भने ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:०२
Weather Update