News Griha :: न्यूजगृह
भ्रष्टाचारीलाई सहयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर बर्खास्तमा परेका शिक्षकलाई विभिन्न सुविधा र उपदान दिलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुविधा लिने शिक्षक र सुविधा दिलाउन प्रयास गर्ने प्रधानाध्यापक तथा शिक्षा कार्यालयका अधिकारीहरूमाथि मुद्दा चलाएको हो ।

बाराका राम प्राविका शिक्षक योगेन्द्र प्रसाद यादव  २०७३ बैशाख १६ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । उनले आफू कसुरदार भएको फाइल गायब बनाई राजिनामा दिएर सुविधा लिएको अख्तियारको आरोप छ ।

कागजात गायब बनाएपछि उनले १ लाख ५ हजार रुपैयाँ अतिरिक्त तलब लिएको अनि औषधी उपचार, बिरामी विदा र चाडपर्व खर्च समेत गरेर कुल १६ लाख ९२ हजार रुपैंया भुक्तानी लिएको अख्तियारको दावी छ । 

उनलाई सहयोग गरेको आरोपमा अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक बृज किशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रिय शिक्षा निर्देशनालयका कामु निर्देशक दिनेशकुमार श्रेष्ठ र शाखा अधिकृत बेदप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:३८
Weather Update