
विराटनगर— मोरङका विभिन्न स्थानमा हतियार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौमा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गर्ने काममा उनीहरु सक्रिय रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा ४० वर्षीय रिजवान मियाँ, २४ वर्षीय नजरुल मियाँ, ३१ वर्षीय मोहम्मद अलि, मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र ४० वर्षीय मोहम्मद आलम छन् ।

उनीहरूले प्रयोग गरेको मोबाइलको ‘लक’ खोलेर आपराधिक काममा सहयोग गर्ने मोबाइल पसल सञ्चालक ३० वर्षीय सिजाम आलमलाई १ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।
उनीहरूको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट केही समयअघि लुटिएको चिनियाँ पेस्तोल, मोबाइल फोन १६ वटा, मेमोरी कार्ड १२ बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए । यसैगरी उक्त समूहको साथबाट प्रहरीले १ लाख ७५ हजार २ सय ७५ रुपैयाँ र ११ हजार ६ सय भारतीय रुपैयाँका साथै दुईवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
डाँका चोरी र सङ्गठित अपराधअन्तर्गत अनुसन्धान गरी उनीहरूमाथि मुद्दा चलाइएको छ ।













