
मुगु— मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । योसँग हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।
उनीहरूलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि प्रहरीले गोरखबहादुर शाहीलाई पक्राउ गरेको थियो । पक्राउ परेका अर्काको परिचय भने प्रहरीले खुलाएको छैन ।
शाही मृतकका मामाको छोरा हुन् । भने अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घटनाको कारण, हत्याका आरोपितबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।
कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक रुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो लगायत टोली खटिएको थियो ।













