News Griha :: न्यूजगृह
प्रधानमन्त्री जलवायु सम्मेलनमा भाग लिन यूएई जाने

काठमाडौं— जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ ।

आगामी मंसिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको बताएको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा. पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबारे जानकारी गराए ।

उनले भने, ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ। सबै क्षेत्रबाट सुझाव संकलन गरी नेपालले प्रस्तुत गर्ने स्थिति पत्रलाई अन्तिम रूप दिइनेछ।’

विज्ञ जेन्टलले नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै ‘पेभिलिएन’ स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तरीय र प्रमाणसहित कार्यक्रम गर्ने अवगत गराए । 

सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पुर्‍याएको भन्दै उनले यसलाई सबै मिलेर उपयोग गर्न लाग्नुपर्नेमा जोड दिए । 

वन मन्त्री विरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तिव्रताका साथ भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:३४
Weather Update