फूल व्यापारीसँग ‘घुस’ माग्ने असई निलम्बित

काठमाडौं— सर्लाहीस्थित प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज मनोज यादवलाई निलम्बन गर्ने निर्णय भएको छ । उनलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।
प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल-भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।
रकम मागेको मौखिक उजुरीपछि उनलाई निलम्बन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन गरिरहेको छ । छानबिनका लागी डीएसपीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको एसपी धितालले जानकारी दिए ।
गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको पनि आरोप छ । यसअघि पनि गैरव्यावसायिक गतिविधिमा संलग्न आरोपमा प्रहरी हवलदारलाई निलम्बन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १८:०३













