News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो दुवै पक्षसँग बहस नोट

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।

इजलासले मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए ।

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ। 

जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना थुनामा बसेर सन्दीप छुटेका थिए।

बहस नोट झिकाएसँगै अब भने अन्तिम सुनुवाइ अगाडि बढ्ने सम्भावना बढेको छ। अर्को पेसी मंसिर २४ मा तोकिएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:३१
Weather Update