
काठमाडौं— महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ बेपत्ता भएका पाँचजना किशोरी धनुषामा फेला परेका छन् ।
धनुषाको ढल्केबरमा उनीहरूलाई प्रहरीले बिहान सवा १० बजे फेला पारेको हो । उनीहरूलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका हुन् । फेला परेका किशोरीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।
महोत्तरी प्रहरीले ती किशोरीहरूलाई ल्याउन इलाका प्रहरी कार्यालय गौशालाको टोली पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता दिलीप गिरिले जानकारी दिए । औरही नगरपालिका-२ का १६ वर्षीय वसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीन भएका किशोरीहरू २४ घण्टा बढी समयपछि परिवारको सम्पर्कमा आए पनि स्थानीयको सहयोगमा प्रहरीले आज फेला पारेको हो । घटनाका विषयमा थप अनुसन्धान पश्चात् जानकारी दिने प्रवक्ता गिरिले बताए ।