
काठमाडौं— इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ ।
२०६४ साल चैतमा संविधान सभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा सुनुवाइ भइरहेको हो ।
बुधबार अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको छ ।
बुधबार इजलासले सो मुद्दाको विषयमा सबै विषय समेटेर टिपोट पेस गर्न आदेश दिएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले भने, ‘जाहेरी दरखास्त यस्तो थियो, बयान यस्तो, नेपाल सरकारको निर्णय यो थियो सर्वोच्चको आदेश यस्तो थियो भनेर अदालतले नै टिपोट दिने हो, यसले बेञ्चलाई नै सहजीकरण हुन्छ ।’
यो मुद्दा नेपाल सरकारले एक पटक मुद्दा नचलाउने निर्णय गरिसकेको तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेर अघि बढाउने आदेश दिएको थियो ।













