News Griha :: न्यूजगृह
पूर्वमन्त्री आलमको मुद्दामा अन्तिम चरणमा, बिहीबार फैसला आउने सम्भावना

रौतहट— रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ ।

पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री अफताव आलमका काका शेष इन्द्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँट्टा भट्टामा जलाएको आरोप उनीमाथि छ ।

उनीसहित ११ जना प्रतिवादी रहेको मुद्दाको मिसिल अदालतमा खोलिएको हो । जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल र आलम पक्षको बहस मंगलबार सकिएको छ ।

केही बाँकी वकिलको बहस बुधबार सकिने र त्यसपछि मुद्दाको फैसला हुने उनको भनाई छ । सम्भवतः बुधबारसम्म बहस सकेर बिहीबारसम्ममा मुद्दाको फैसला हुने उनले जानकारी दिए । 

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको हो । सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले २०७६ कात्तिक १८ गते नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको थियो । त्यसपछि भएको बहस र सुनुवाइबाट जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले अलामलाई मुद्दा टुंगो नलागेसम्मका लागि कात्तिक २९ गते कारागार पठाउने निर्णय गरेको थियो । 

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीनवटा मुद्दा चलाइएको थियो । पूर्वमन्त्री आलम चार वर्षदेखि पुर्पक्षका लागि नख्खु करागारमा छन् । पूर्वमन्त्री आलमका भाइ महताब आलम पनि पुर्पक्षका लागि रौतहट कारागारमा छन् । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:४३
Weather Update