
काठमाडौं— चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एअरक्राफ्ट मार्फत झन्डै ३० करोड मूल्य बराबरको सामग्री ल्याइएको थियो । उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे ।
दुईवटा एअरक्राफ्टबाट चार हजार छ सय ब्लाङकेट र छ सय टेन्ट आएको छ ।
यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् ।
बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्रालयले जनाएको छ। पोखरा आएको सामग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।













