
काठमाडौं— सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपतिलाई उपलब्ध गराइए सरहको सुविधा दिने तयारी गरिरहेको थाहा भएको छ । पूर्वराष्ट्राध्यक्ष हैसियतको सम्मान दिएर पूर्वराजालाई सुविधा दिनुपर्छ भनेर माग भइरहेकोले सरकार औपचारिक निर्णयको तयारीमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका शीर्ष नेताहरूसँग यस विषयमा परामर्श गरिरहेका छन् । उनले मंगलबार बसेको सर्वदलीय बैठकमा पनि यसबारे सामान्य चर्चा गरेका थिए ।
मन्त्रिपरिषद्का एक सदस्यले बताए अनुसार पूर्वराजाको राजनीतिक सक्रियता बढ्दै गएकाले उनलाई पूर्वराष्ट्रपतिलाई दिने सरहको सुविधा दिएर ‘थान्को’ लगाउन यस्तो निर्णय गर्न लागिएको हो ।
देशका विभिन्न भागमा धार्मिक सद्भाव विरोधी गतिविधिमा संलग्न मानिसहरूले पूर्वराजालाई उक्साइरहेको भन्ने निष्कर्षमा पुगेका प्रधानमन्त्री दाहालले सुविधाका विषयमा चाँडै औपचारिक निर्णय गर्ने ती सदस्य बताउँछन् ।
जाजरकोट र रुकुमका भूकम्प प्रभावित परिवारको बसोबास र राहतका विषयमा छलफल गर्न भनी बोलाइएको सर्वदलीय बैठकमा गणतन्त्रमाथि चुनौति आएको भन्दै नेताहरू त्यसमा केन्द्रित भएका थिए । उनीहरूले पूर्व राजाको सक्रियता बारे चर्चा गर्दै सरकार रमिते बनेको भनेर प्रधानमन्त्री दाहालको आलोचना गरेका थिए ।
दलहरूको टिकाटिप्पणी सुनेपछि प्रधानमन्त्री दाहालले पूर्व राजालाई सुविधा दिने बारेमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने तयारी भइरहेको भनेर जानकारी दिएका थिए ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग त्यस विषयमा प्रतिबद्धता जनाएको दलहरूलाई बताएका थिए ।
यस सम्बन्धमा कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्व राजालाई राष्ट्राध्यक्षको सम्मान दिएर त्यही तहको सुविधा दिनुपर्ने भनेर आफूले माग गरिरहेको बताए ।
झण्डै दुई साताको अमेरिका भ्रमण सकेर मंगलबार फर्किएका अध्यक्ष लिङदेनले भने, ‘मेरो लागि त उहाँ सँधै राजा नै हो, सरकारले बिलम्ब नगरीकन औपचारिक निर्णय गरेर पूर्वराष्ट्राध्यक्षलाई दिने सरहको सम्मान र सुविधा उहाँलाई उपलब्ध गराउनुपर्छ । यसबारेमा मैले गम्भीरतापूर्वक कुरा गर्दैै आएको छु ।’
पूर्वराजाका सचिव सागर तिमिल्सेनाले भने पूर्वराजालाई सुविधा दिनेबारेमा आफूलाई जानकारी नभएको बताए । ‘हामीलाई त्यसबारेमा कुनै जानकारी छैन,’ सचिव तिमिल्सेनाले भने ।
मङ्गलबारको सर्वदलीय बैठकमा संघीयता, गणतन्त्र र संविधानमाथि चुनौति आएको भनेर आकस्मिक रुपमा चर्चा सुरु गरिएको थियो। प्रधानमन्त्री दाहालले नै त्यस्तो चर्चा सुरु गरेर आफू कसैसँग नतर्सिएको स्पष्टीकरण दिएका थिए ।