
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझाव सहितको निवेदन हस्तान्तरण गरेका हुन् ।
लामिछानेले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन् ।
यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् । उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् ।
राहत सामग्री वितरणमा एकरूपता नभएको, राहत प्रशासनमा थुप्रिए पनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लामिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।