
काठमाडौं— जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ ।
मंगलबार साँझ परिसरका प्रवक्ता एवं एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य उपचारको अत्यावश्यक सेवा सञ्चालन गर्न अपिल गरेका हुन् । शनिबार पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको थियो ।
निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत दिएको पाँच मिनेटभित्रै दुवैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ । उनीहरूको मृत्यु भएपछि आफन्तले पाटन अस्पतालका चिकित्सकहरूमाथि हातपात एवं अभद्र व्यवहार गरेका थिए ।
हातपात गरेको भन्दै चिकित्सकहरू आकस्मिकबाहेक सबै सेवाहरू ठप्प पार्दै आन्दोलनमा छन् । यस घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताए ।
‘यस परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।













