
काठमाडौं— प्रमुख राजनीतिक दलले, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपाधिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्ता माथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधान माथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं,’ उनले भनिन् ।
बैठकपछि एमाले सचेतक महेश बर्तौलाले व्यवस्था माथि जसरी जनस्तरबाट नकारात्मक टिप्पणीहरू गराउँने, खेती भइरहेको छ र जसरी सामाजिक सञ्जाललाई दुरुपयोग गर्न खोजिएको छ त्यसको बारेमा छलफल भएको बताए । पार्टीले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको भन्दै ध्यानाकर्षण गराएको उनको भनाई छ ।
‘हामीले पनि सरकारका कतिपय कामहरूका कारणले गर्दा मुलुकमा छाडातन्त्र मौलाएको छ । विद्यामान शासकीय प्रणालीहरूमाथि चुनौती सिर्जना हुने काम भइरहेको छ, गृह प्रशासन कमजोर भएको मुकदर्शक भएको, दिनदहाडै विभिन्न खालको जघन्य प्रकृतिका हिंसात्मक घटनाहरू अगाडि बढिरहेका छन् । यी सबै पक्षमा विशेषगरि शान्ति, संविधान, विद्यामान व्यवस्था जसरी एकपछि अर्को जनतामा निराशाजनक प्रस्तुतिहरू भइरहेको छ । भनेका छौँ,’ भुसालले भनिन् ।