
काठमाडौं— विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीले विशेष अदालतबाट भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतका सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनलाई सफाइ दिएको स्रोतले जानकारी दियो ।
पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७३ असोज २१ गते नायब सुब्बा पदबाट सरकारी सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका थिए । उनको माओवादी केन्द्रका उच्च तहका नेतासँग राम्रो सम्बन्ध छ । भण्डारी पाँच वर्षमै अर्बौंका मालिक भएका हुन् ।













