बाँके— जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । गत शुक्रबारको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाएकी छन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् ।
जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाकोे गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपमा फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटिरहेकी छन् ।
जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् भने कतिबेला बोल्दै बोल्दिनन् । निकै कम बोल्छिन् । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुमसुम्याउँछिन् । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आउनुभएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् ।
‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे”, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा आमालाई छोरीको चिन्ताले सताइरहेको छ ।
शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए ।