
काठमाडौं— पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले स्पेस फोके टीभीका पत्रकारलाई सोमबार सोधपुछ गरेको छ ।
सरकारी कार्यालय रेल विभागमा रिपोर्टिङ गर्ने क्रममा स्पेस फोके टीभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडिओले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाज समेत उठेको थियो ।
काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए ।
उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत चल्ने टीभी र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।
काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्बासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरा सहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।
प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारवाही गरिसकेको छ ।
कतिपय पत्रकारलाई काउन्सिलले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिङ गर्ने युट्युब सहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको छ













