News Griha :: न्यूजगृह
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो
तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणका लागि नदी फर्काउने काम गरिँदै । तस्बिरः कृष्ण न्यौपाने

दमौली— एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो ‘कङ्क्रिट’ मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो ।

सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिन्छ । सन् २०२१ देखि निर्माण सुरु भएको सुरुङमार्ग हालै सम्पन्न भएपछि नदी फर्काइएको हो । सेती नदी अब सुरुङमार्ग भएर बग्नेछ । 

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी ‘कङ्क्रिट’ बाँध निर्माण गरिएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

Tanahun hydro dam1694658430.jpg

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण फड्को भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमूना आयोजनाका रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताका साथ काम भइरहेको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । 

एडीबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमूनाका रुपमा दूधकोसी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक काम भएको बताउँदै दूधकोसी जलविद्युतजस्ता ठूलो आयोजनामा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:१२
Weather Update