News Griha :: न्यूजगृह
साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकेजी १ सय १५

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीलाई दश बोरासम्म चिनी दिने भएको छ । 

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ्ग मार्फत किन्ने प्रबन्ध गरेको थियो । 

यसका साथै अवैध रुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले राजधानी काठमाडौंका बिभिन्न स्थानमा अवैध रुपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङ्गले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् । 

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरूले आजदेखि साल्ट ट्रेडिङ्गको कालिमाटी शाखा र भोलिदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १४:५०
Weather Update