
रुकुम पश्चिम— रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराएको छ ।
शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री तथा मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको हो ।
आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए ।
उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सो अन्तरगत चामल, दाल, नुन, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ । मृत्यु भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरियाखर्च उपलब्ध गराइएको हो ।
बाँकी मृतकका परिवारलाई सोमबार प्रभावित क्षेत्रमा पुगेर राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए। मृतकका परिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ । बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरियाखर्च दिन बाँकी रहेको उनले जानकारी दिए ।
आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ । नगरपालिकालाई विभिन्न ठाउँबाट सङ्घ संस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार नगरपालिकालाई प्राप्त भएको राहत सामग्री प्राप्त गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको छ । भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठूलो क्षति पुर्याएको छ ।













