
बारा— जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् ।
बाराको तेलकुवामा आयोजित कार्यक्रममा उनले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताएका हुन् । ‘सङ्घीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्,’ अध्यक्ष यादवले भने ।
यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई सङ्घीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको आरोप लगाए ।
‘हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, सङ्घीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिदैन, सङ्घीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ,’ जसपा अध्यक्ष यादवले भने ।
उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए ।