News Griha :: न्यूजगृह
जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

रुकुम पश्चिम— रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्यु हुनेमा बर्दियाका दुई र रोल्पाका एकजना छन् । उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क बिक र ३६ वर्षीय अनिल बिक छन् । उनीहरूको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो ।

त्यस्तै रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला  बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:५४
Weather Update