
काठमाडौं— दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।
गएराति डोटीका पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । बेपत्ता विपिन जोशीको उद्धारका लागि पहल भइरहेको उनले बताए । दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
आक्रमणमा परि डोटीका पदम थापा, सल्यानका प्रवेश भण्डारी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका लोकेन्द्रसिंह धामी र दिपेशराज विष्ट, धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका का राजन फुलारा, तथा कैलालीका आशिष चौधरीको शव नेपाल ल्याइएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
डोटीका पदम थापा र राजन फुलारा तथा सल्यानका प्रवेश भण्डारीको शव आइतबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइएको सहसचिव आरणले जानकारी दिए ।













