भूकम्पमा घाइते भएकी सशीलाको ३३ घन्टापछि उद्धार

काठमाडौं— भूकम्पमा आफ्नै घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी जाजरकोटको छेडागाड–७ कि सशीला रोकायको ३३ घन्टापछि उद्धार भएको छ ।
उनी शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्र गरी गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा घरभित्र थिचिएकी थिइन् ।
उनको आइतबार बिहान हेलिकप्टरमार्फत् उद्धार भएको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए ।
‘घरले थिचेकाले उहाँको दुवै गोडा चल्दैनन्। घाइते भएको ठाउँसम्म एम्बुलेन्स पुग्न नसकेकाले उद्धार हुन सकेको थिएन। अहिले बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी नेपालगञ्ज लगिएको छ,’ गाउँपालिका अध्यक्ष खड्काले बताए । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रूपमा तोकेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० ०९:५१













