News Griha :: न्यूजगृह
कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरूको घोषणा

काठमाडौं— नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरूले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज सवा ११ देखि सवा १२ बजेसम्म, भोलि कात्तिक २० गते सवा ११ देखि पौने १ सम्म र सवा ११ देखि सवा १ सम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले संस्थागत उन्नति र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैगरी कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरूलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरूले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:४४
Weather Update