News Griha :: न्यूजगृह
जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतको पर्खाइमा भूकम्पपीडित
गत शुक्रबार राति गएको भूकम्पले घर क्षति पुर्‍याएपछि भेरी नगरपालिका–३, थाप्लेमा पाल टाँगेर खुल्ला आकाशमुनी रात कटाइरहेका स्थानीय । तस्बिरः हेमन्त केसी/रासस

जाजरकोट— जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  ।

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।  
प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् ।

जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने, ‘भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु काँपिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ ।’ 

jajrkot-bhukampa-ghar-1699155511.jpg
शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका –१  रिम्नमा भत्किएको घर । तस्बिरः सुरेश आचार्य 

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा  धेरै भौतिक क्षति पुर्‍याएको छ ।  बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंक रूपमा क्षति भएकै छन् । 

परम्परागत घरमा क्षति धेरै

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा परम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको बताउँछन्  ।

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल बिक बताउँछन्। उनी भन्छन्, ‘यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।’ तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ ।

भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।

खुला आकासमा रात बिताउँदै 

भूकम्प पीडितले  खुला आकास पालमुनि बसेर रात बिताएका छन् ।  घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकासमुनि बसिरहेको बताए। भने, ‘एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।’ 

sadak-jajarkot-1699155512.jpg
खलङ्गा नलगड सडकखण्डमा भूकम्पका कारण भाँसिएको एवं चर्किएको सडक  । तस्बिरः सुरेश आचार्य

उद्धारको काम करिब अन्तिम चरणमा

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकारको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका थिए । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।

यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।

pahiro-sadak-1699155511.jpg
भूकम्पले भेरी नगरपालिका– १ रिम्नास्थित सडकमा खसेको पहिरो । तस्बिरः सुरेश आचार्य

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:१९
Weather Update