News Griha :: न्यूजगृह
चाउचाउको भरमा खुला आकासमुनि रात कटाए भूकम्पपीडितले
जाजरकोट सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले सडकमै बसेका स्थानीय ।

जाजरकोट—भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । 

गृह मन्त्रालयले जाजरकोटमा ९९ जनाको तथा रुकुम पश्चिममा ५८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ६, रुकुम पश्चिममा ८६, दैलेख, जुम्ला, प्यूठान र बैतडीमा तीन/तीन तथा सल्यानमा दुई तथा दाङ र रोल्पामा एक जना घाइते भएका छन् ।  

शुक्रबार राति ११ बजेर ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

चाउचाउको भरमा खुला आकासमुनि रात 

विनाशकारी भूकम्पपछि जाजरकोटमा अधिकांश कच्ची घर ढलेका छन् । सग्लो रहेका घरमा पनि छिर्ने हिम्मत छैन पीडितको । जाजरकोटको भेरी नगरपालिका-१ रिम्नाका स्थानीयहरू रातभर खुला आकासमुनि ओछ्‌यान लगाएर सुते । त्यस्तै, भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारणहरु भूकम्पको त्रासले सडकमा सुतेका छन् ।

sadak-ma-bhukampa-pidit-1699106054.jpg

रासन-पानी सबै घरमा पुरिएकाले चाउचाउ खाएर उनीहरूले रात बिताए । यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको छ । त्यस्तै, सदरमुकाम खलङ्गा बजारका स्थानीय पनि भूकम्पको डरले रातभर खुला आकासमुनि सडकमै रात कटाएका छन् । 

कात्तिकको चिसो र शीतमा खुला आकासमुनि सुत्दा स्वास्थ्य समस्या निम्तिने चिन्ता समेत बढेको छ ।

राहत सामग्री आएको सुने पनि आफूहरूको हातमा नपरेको स्थानीयले बताए । 'राहतको चामल तथा चाउचाउ अलि माथिसम्म ल्याएछन् । हाम्रो हातमा केही परेको छैन,' स्थानीय विवश रानाले भने, 'खाने अन्न पनि सबै घरमा पुरियो । केही साथमा छैन ।'

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०६:०६
Weather Update