
रुकुम पश्चिम— रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शुक्रबार रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो ।
भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात् परिवारलाई हस्तान्तरण गरिने छ ।
भूकम्पबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।
भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौं पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ । मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब आइतबारदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।













