News Griha :: न्यूजगृह
ओमनमा घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल पक्राउ

काठमाडौं— ओमनको रोयल प्रहरीले घरेलु कामदारलाई जबर्जस्ती गर्ने नेपाली दलाल नवीन राईलाई पक्राउ गरेको छ । राई ओमन घरेलु कामदार लैजाने काम गर्छन् ।

नेपालबाट घरेलु कामदारमा पठाउन ल्याइएको एक नेपाली युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको हो । पीडित नेपाली युवतीले उद्धारका लागि गैर आवासीय नेपाली सोसल क्लब (एनआरएन)लाई अपिल गरेकी थिइन् ।

‘हामीले रातभर खोजी गरेपछि राईले नियन्त्रणमा राखेकी पीडितको लोकेसन फेला पर्‍यौं । यसमा ओमन प्रहरीले सहयोग गरेको छ,’ एनआरएनए ओमनका अध्यक्ष बिकल झाले भने, ‘प्रहरीले राईलाई पक्राउ गरी जबर्जस्ती करणीको मुद्दामा छानबिन प्रक्रिया अगाडि बढाएको छ ।’

झाले पीडितको स्वास्थ्य उपचार गरेपछि आश्रय दिन नेपाली दूतावासको सेल्टरमा पठाइएको बताए । ‘पीडितको स्वास्थ्य परीक्षण भयो । स्वास्थ्य परीक्षणले जबर्जस्ती करणी भएको रिपोर्ट दिएको छ’, उनले भने, ‘स्वास्थ्य रिपोर्टको आधारमा मुद्दा चलाउने प्रक्रियालाई अगाडि बढाइएको छ ।’

पीडितलाई क्लिनरको श्रम स्वीकृति लिई ओमन लगिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:३०
Weather Update