
काठमाडौं— जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा सयौँ मानिस घाइते छन् । राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन् ।
केन्द्रबिन्दु रहेको बारेकोटमा भने मानवीय क्षति नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले जानकारी दिए । भौतिक संरचनाहरू भने पूर्ण रूपमा क्षति भएका छन् ।
प्रहरीसँगको विवरण अनुसार जाजरकोट र रूकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ । त्यसमध्ये जाजरकोटका मात्र १०५ जना रहेका छन् ।

घाइतेहरूले जिल्ला अस्पताल जाजरकोट खचाखच भरिएको छ । घाइतेहरूको उद्धार तथा उपचारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ ।
भुकम्पमा परि गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि ठूला अस्पतालमा लैजाने काम भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले जानकारी दिए ।
‘भूकम्पमा परी सामान्य घाइते भएकाहरूको स्थानीय अस्पताल तथा मेडिकल र अलि बढी चोट भएकाहरूलाई जिल्ला अस्पतालमा लगेर उपचार गर्ने काम भइरहेको छ,’ ढकालले भने, ‘सिकिस्त बिरामीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत र नेपालगञ्ज लगिएको छ।’
उनका अनुसार सुर्खेतमा रहेको प्रहरीको स्वास्थ्यकर्मी टोली र नेपालगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली जाजरकोटमा परिचालन गरिएको छ।
सुर्खेतबाट हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रविन केसीको नेतृत्वमा टोली जाजरकोट गएको छ । रूकुम पश्चिमको आठविसकोट नगरपालिकामा नेपाली सेनाको चिकित्सक टोली उपचारका लागि खटिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।
यस्तै जिल्ला अस्पताल जाजरकोटमा चिकित्सकहरूको अपरेशन टोली पुगेको उनले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको हेलिकप्टरले पहिलो उडानमार्फत तीन जना घाइतेलाई सुर्खेत ल्याएको छ ।

उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ। ‘नेपाली सेनाको हेलिकप्टरले घाइतेहरूको उद्धार तथा थप उपचारका लागि अस्पताल लैजान उडान गरिरहेको छ, बिरामी लिन जाँदा स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्रमा गइरहेको छ,’ मन्त्री जिसीले भने, ‘एम्बुलेन्सहरू र गाडीमार्फत पनि घाइतेहरूलाई अस्पताल लिने काम भइरहेको छ।’
कतिपय घाइतेहरूलाई नेपालगञ्ज पनि उपचारका लागि लगिएको मन्त्री जिसीले जानकारी दिए ।
त्यस्तै भूकम्पमा परी घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ । कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने घाइतेहरूको आफन्तजनको सहजताका लागि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ ।
स्वास्थ्यकर्मीको अभाव नहुने व्यवस्था गरिएको पनि प्रजिअ अधिकारीले जानकारी दिए ।
हेलिकप्टर बाट आउने बिरामीका लागि राझा विमानस्थल , र सेनाको हेलिप्याडमा २-२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

अद्यावधिक गरिएको













