
मोरङ— कोशी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो । शनिबार बिहान एमालेबाट मन्त्री बनेका दलका उपनेता राम रानाले राजीनामा दिएका हुन् ।
एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार नै सत्ताबाट बाहिरिने बताएका थिए । एमालेले केन्द्रको जस्तै प्रदेशमा गठबन्धनमा संलग्न नहुने जनाएको छ ।
एमालेका ३९ जना सांसदको समर्थनमा कार्की असोज २८ मा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शमशेर राईलाई मन्त्री बनाएका थिए । सरकार बनाउने अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् ।
आमनिर्वाचनपछि गत पुस ११ मा प्रदेशले मुख्यमन्त्री पाएको थियो । त्यस समयमा एमालेका हिक्मत कार्की माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । यो अवधिमा हिक्मत कार्की र उद्धव थापा २-२ पटक मुख्यमन्त्री भइसकेका थिए ।
सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएका एमाले नेता हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि असोज २० मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि गरेको आह्वानमा कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की र गठबन्धन दलको सिफारिसमा माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
कार्की मुख्यमन्त्री भएलगत्तै केन्द्रको गठबन्धनले पनि उनलाई अघि बढाउने निर्णय गरेको थियो । कार्की नेतृत्वको सरकारलाई कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीसहित केन्द्रमा गठबन्धनमा रहेका दलहरूले विश्वासको मत दिएका थिए । विश्वासको मत प्राप्त गर्ने बित्तिकै कार्कीले सर्वदलीय सरकार बनाउने बताउँदै आएका थिए । त्यसमा एमालेको आपत्ति थियो । एमालेसँग पटकपटक वार्ता असफल भएपछि कार्कीले शुक्रबार केन्द्रको सत्ता साझेदार दल माओवादी र एकीकृत समाजवादीका सांसदहरूलाई मन्त्री बनाएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराइसकेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।