News Griha :: न्यूजगृह
रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्न सरकारको निर्देशन

काठमाडौं— सरकारले नेपाल एअरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एअरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ ।

रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एअरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

रुकुम पश्चिमको चौरजहारी र सल्ले एअरपोर्ट छन् । तर जाजरकोटमा एअरपोर्ट भए पनि सञ्चालनमा छैन । रुकुमका २ वटा एअरपोर्टमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् ।

जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एअरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एअरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टीमसहित हेलिकप्टरमार्फत् रुकुम प्रस्थान गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०८:०३
Weather Update