News Griha :: न्यूजगृह
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ८० पुग्यो, २ सय जना घाइते 

काठमाडौं— जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म ८० जनाको मृत्यु भएको प्रहरी पुष्टि गरेको छ ।

त्यस्तै, भूकम्पमा परी २ सय जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गाउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना छन् ।

भूकम्पको केन्द्रबिन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने अहिलेसम्म बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताएका छन् । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए । भूकम्पमा परी जाजरकोटमा १२० जना घाइते भएको विवरण संकलन भएको छ । घाइतेहरूमध्ये ७ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको डीएसपी भट्टराईले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी घाइतेहरूको जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:०४
Weather Update