News Griha :: न्यूजगृह
मध्यरातमा रुकुम पश्चिम र जाजरकोटमा भूकम्प, ५० जनाको मृत्यु
भूकम्पले क्षति पुर्‍याएको घर ।

रुकुम— जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यरात गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ ।

रूकुम पश्चिम प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित त्यहाँ २० जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरू आइरहेको छ ।

शनिबार बिहान ३ बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । ‘जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौंका साथै देशैभरजसोमहसुस भएको थियो । क्षतिको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०४:४२
Weather Update