
विराटनगर— केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस विद्रोही पक्षबाट शमशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमालेले भने सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
यसअघि कार्कीले एमालेसँग छलफल गरे पनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कांग्रेस र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् । तर सङ्कटमा आफूलाई साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीले बताउँदै आएका छन् ।