
काठमाडौं— मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जाने भएको छ ।
कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी हत्या गरिएको अवस्थामा मृत भेटिएका थिए ।
हत्या घटना अनुसन्धानको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयकोसमेत टोली खटिएको छ । तर आरोपित अझै पक्राउ परेका छैनन् । त्यसैले प्रदेश प्रहरीले सीआईबीको सहयोग मागेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सीआईबीको टिम पठाउन पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली घटनास्थलमा पठाउने तयारी गरेको छ । अहिले मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।
छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
हत्यापछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको थाहा भएको छ । कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान थालेको थियो ।













