News Griha :: न्यूजगृह
रिगल कारागार चलान, ११ वर्ष ११ महिना ५ दिन जेलमै रहने

काठमाडौं— योगराज ढकाल अर्फ रिगल लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेस गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो । 

जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए । ‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ उनले भने।

रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए । सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए । उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो । रिगलले २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी पूर्वश्रीमती भारती शेर्पाले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:३१
Weather Update