बागलुङ— लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ । व्यावसायिक रूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ ।
रैथाने बाली फापरको आँटो, ढिँडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् ।
बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ । स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले आफ्नो एकदुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको छ । ‘अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘हामी फापरकै आँटो, ढिँडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे ।’
फापर बारीमा अन्य खेती हुन थालेको स्थानीय निमबहादुर बिक बताउँछन् । ‘पहिला रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि निकै कम फल्ने गरेको छ,’ उनले भने ।
फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौ खेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको विकले बताए । फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको बिकको भनाइ छ । मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटेको बिक बताउँछन् ।
अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला–महोसत्वमा मात्र फापर सीमित भएको छ । बागलुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिए । उनका अनुसार हरेक वर्ष एक सय २० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ । फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन गर्ने सूचना अधिकारीले पुनमगरले बताए। उनले भने, ‘हरेक वर्ष फापर खेती घट्दै गएको छ ।’