News Griha :: न्यूजगृह
शान्ति प्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्ति प्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा उनले सङ्क्रमणकालीन विधेयक संसद्को कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताए । आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व गर्दा नराम्रो जस्तो गरी दृष्टिकोण आउने गरेको उल्लेख गर्दै तर यस्तो विषय राष्ट्रिय प्राथमिकतामा पर्न जरुरी रहेको उनले बताए ।

‘हामी आफूमा विश्वास गर्दैनौँ । भाग्यवादमा विश्वास गर्छौँ, तर तथ्यमा, विज्ञान प्रविधिले के भन्छ भन्नेमा ध्यान दिएर कर्ममा विश्वास गर्नुपर्छ,’ उनले भने, ‘मिलन र सद्भावको संस्कृतिलाई काम गर्नुपर्छ । अल्पसङ्ख्यकको संस्कृतिलाई पनि मानेर जानुपर्छ । बहुलतालाई स्वीकार गरेर जानुपर्ने जरुरी छ ।’ 

सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उनले यस अवधिमा कानुन निर्माणमा क्रममा मिटरब्याज सम्बन्धी महत्वपूर्ण कानुन बनाएको अवगत गराए । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उनले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक पर्नेमा जोड दिए ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:१६
Weather Update