
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ महिनाको अवधिमा संघीय संसदले करिब ६ करोड रुपैयाँ खर्च गरेर एउटा मात्रै कानुन बनाएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रभावकारी काम गर्न नसकिएको बताए ।
‘दोस्रो अधिवेशन प्रारम्भ भए यताको ६ महिनामा संघीय संसद्ले बजेटसँग सम्बन्धितबाहेक मात्र एउटा कानुन बनायो,’ उनले भने, ‘६ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्यो सभामुख महोदय । योभन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दैथेँ। नागरिकका समस्या सुल्झाउने काममा योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ।’
त्यस्तै, लामिछानेले पुराना दलका नेताले नयाँ दललाई आरोप लगाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताए । पुराना भनिएका दलका नेताले नयाँ दलका कारण व्यवस्था नै खतरामा परेको भनिएको सुनिएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘व्यवस्था नै खतरामा पर्यो भनेर भनेको सुनियो। तपाईँहरूकै कारण यो व्यवस्थामा खतरा आउने त होइन?’ बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘व्यवस्था बचाउन प्रधानमन्त्रीले नेतृत्व गरेको दल नै सडकमा आउने हो कि?’
यो संसद् ठूला भनिएका तीन दलबाहेक अरूप्रति अनुदार रहेको पनि सभापति लामिछानेले बताएका छन् ।
संसद्मा बोल्दै सभापति लामिछानेले कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको इजरायल सरकारले पुष्टि गरिसकेकोले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।