News Griha :: न्यूजगृह
युद्ध दिवस मनाउनु उचित होइन : एमाले 

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’ 

फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो ।

हिंसाको बाटो गलत थियो भनेर साथीहरू शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोक्तिका साथमा उहाँहरूको यो सदनमा उपस्थिति छ भन्ने म मान्छु ।’  मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवस मनाउनु उचित नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १३:१४
Weather Update