
काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एक सातामै १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।
कार्यालयका अनुसार यही दसैँ लगत्तै कात्तिक ९ देखि बिहीबार बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए ।
चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए।
भट्टका अनुसार पछिल्लो २४ घण्टामै २ हजार २१८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका हुन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।
यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।













