
काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस जब सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमाथि पुगे, उनी चढेको सैनिक हेलिकोप्टरले एउटा विशाल तालमाथि चार फन्को लगायो । अनि बल्ल हेलिकोप्टर आधार शिविरको हेलिप्याडमा उत्रियो, जहाँ सांस्कृतिक पहिरनसहित हिमाली शेर्पाहरु र जनप्रतिनिधि उनको स्वागत गर्न लामबद्ध थिए ।
हेलिकोप्टरबाट उत्रिएपछि गुटेरेसले वरिपरिका सेताम्मे हिमाल र पर्वतमालाको अवलोकन गरे अनि अघिबढे उनको स्वागत गर्न उभिएका आतिथ्य तिर ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ्छिरिङ्ग शेर्पा जातीय पहिरनमा गुटेरेसको स्वागत गर्न अरुसँगै उभिएका थिए, जहाँ उनको औपचारिक प्रस्तुति पनि थियो ।
गुटेरेस फर्किए पनि उनले आफ्नो हात समाएर जलवायु परिवर्तनको नकारात्मक असर भोगिरहेको नेपाललाई न्याय दिलाउने गरटेरेसको आश्वासन सम्झिरहेका छन् आङ्छिरिङ्ग शेर्पा ।
‘इम्जा हिमताल नै थिएन’ आफू जवान हुँदा जुनबेला हिमाली पर्वतमालातिर फन्को लगाउने आङ्छिरिङ्ग शेर्पा आश्चर्य मान्दै सुनाउँछन्, ‘हेर्दाहेर्दै त्यहाँ अलिअलि पानी जम्न थाल्यो र विस्तारै पोखरी बन्यो। अब त त्यहाँ विशाल ताल नै बनिसकेको छ।’
इम्जा हिमताल करिब ४ किलोमिटरको लम्बाइ र १ किलोमिटरको चौडाइ बनाएर फैलिइसकेको छ। कुनैबेला यो हिमताल फुट्छ भन्ने आशंका बढेपछि तल्लो तटीय क्षेत्रका बस्ती जोगाउन नेपाली सेनाले ३ दशमलव पाँच मिटर पानी घटाएको थियो। यसमा संयुक्त राष्ट्र संघले सहयोग गरेको सम्झन्छन् आङ्छिरिङ्ग शेर्पा ।
यही हिमतालको फन्को मारेर गुटेरेस सगरमाथाको आधार शिविरमा ओर्लिएका थिए। उनलाई वडा अध्यक्ष लक्ष्मण अधिकारीले स्थानीय विषयमा जानकारी दिएका थिए भने शेर्पाले विस्तारमा विवरण सुनाएका थिए ।
इम्जा हिमतालको उत्पत्तिदेखि आजको अवस्थासम्मको कथा सुनेर गुटेरेस अचम्भित भएका थिए । यसैगरी हिमाली क्षेत्रमा विभिन्न परिवर्तनहरू देखा परेको उनलाई जानकारी दिइएको थियो । स्थानीय जनप्रतिनिधि र भुक्तभोगीको भनाई सुनेर उनी चकित परेका थिए ।
गुटेरेसले त्यहाँ २ घण्टा बिताएका थिए ।
महासचिव गुटेरेसको भ्रमणले स्थानीय सरकार र बासिन्दालाई धेरै आशावादी बनाएको छ। जलवायु सङ्कटको असरले हिमाली क्षेत्र र हिमतालहरुको अवस्था कस्तो भैरहेको छ भन्ने कुरा प्रत्यक्ष देखेका महासचिवले नेपाल अन्यायमा परेको कुरा त आधार शिविरमै उभिएर संसारलाई प्रत्यक्ष सुनाएका थिए ।
जलवायु परिवर्तन र संकट उत्पन्न गर्न कुनै भूमिका नै नरहेको नेपाल ठूला औद्योगिक राष्ट्रहरूका कारण पीडित भइरहेको कुरा संसारले अझ प्रष्टसँग थाहा पाएकाले अबका दिनमा यसमा नेपालले न्याय पाउने आशा उनीहरूले गरेका छन् ।
अन्नपूर्ण आधार शिविर पनि पुगे गुटेरेस । उनले त्यहाँ पनि उस्तै अवस्था सुन्न र देख्न पाए। जहाँ उनले स्थानीयसँग नेपाललाई न्याय दिलाउने वचन दिएर बुद्ध जन्मस्थल लुम्बिनी गएका थिए ।
महासचिव गुटेरेसको भ्रमणका क्रममा नेपालले जलवायु परिवर्तन र असरबारेमा आफ्नो धारणा प्रष्टसँग राख्न नसकेको विश्लेषक अरुण सुवेदीले बताएका छन्। नेपालले औपचारिक रुपमा विस्तारमा आफ्नो धारणा राख्न सकेको भए थप प्रभावकारी हुने उनको भनाई छ।
आइतबार बिहान काठमाडौं उत्रिएका महासचिव गुटेरेस बुधबार अमेरिका फर्किइसकेका छन् । उनले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्रीसहित सबैजसो दलका नेतासँग भेट गरेका थिए । जलवायु परिवर्तन, सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रिया लगायतका विषयमा उनको चासो रहेको कुरा सार्वजनिक भइसकेको छ ।