News Griha :: न्यूजगृह
गत वर्ष ६ लाख आम्दानी, यसपालि १२ लाखको कागती बोटमै
फाइल तस्बिर ।

स्याङ्जा— स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए ।

यसपालि बजार अभावका कारण कागती बोटमै छन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् । ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो,’ उनले भने, ‘यस वर्ष सिजन मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’ 

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउँछन् । स्थानीय बजारमा दैनिक १०-१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालदेखि कागती फार्म सुरु गरेका हुन् । उनले १० रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट लगाएका छन् ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो एक सय ३० देखि दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । कागती भण्डारण गर्न  शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:४०
Weather Update